२८ बैशाख २०८१, शुक्रबार ८:१६ | 05/10/2024 10:31 AM



कांग्रेसका “नयाँशक्तिहरु” – शैलेश श्रेष्ठ, न्युजर्जी

२२ फाल्गुन २०७२, शनिबार १३:२४ मा प्रकाशित

डा. बाबुराम भट्टराईले औपचारिक कर्मकाण्डी नयाँशक्ति घोषणा गरे पछि मैले लेखेको थिए “नयाँशक्ति कुनै औपचारिक राजनैतिक झुण्ड होइन यो त प्रत्येक संगठन या पुरातानिक संरचनामा नयाँ विचार र चेतनाको औजारले बिद्रोह बोल्ने स्व-बिबेकी स्वाधीन, स्वतन्त्र र युगसापेक्ष विचार हो | त्यो विचार राजनैतिक संगठनमा मात्र होइन, प्रत्येक समाज र परिवारमा पनि हुन्छ |

त्यस अर्थमा नेपाली कांग्रेसको पराधीन दास परिवारबादी गुलाम वर्तमान यथास्थितिबादको बिरुध्दमा आँट, साहास र चेतनाको आगो ओकल्ने गगन थापा, बिश्व प्रकाश शर्मा, गुरु घिमिरे र प्रदिप पौडेलहरु विचारले नेपाली कांग्रेस पार्टीका “नयाँ शक्तिहरु” हुन | अक्सर अनि तुलनात्मकरुपमा पार्टीमा नलागेका स्वतन्त्र चरित्र र विचारका मान्छेहरु स्वबिबेकी, उदार र प्रगतिशील हुन्छन, त्यस्तो दृश्य हामीले सन २००८ को अमेरिकी निर्वाचनमा पनि देख्यौं जहाँ वर्तमान राष्ट्रपति बराक ओबामाको “आशा” र “परिवर्तन” को युगान्तकारी अभियान र सपनामा त्यहि बर्ग र तप्काका मानिसले उपल्लो स्तरमा साथ र समर्थन गरे |
shailesh

अहिले पुरातनवादी कांग्रेस पार्टीको झेली खेलमा लागेर बिभिन्न तिकडम गर्दै गुटबन्दीको सहाराले पार्टीको प्रतिनिधिका रुपमा काठमाडौँ पुगेका बिकशित देशमा प्रतिनिधिहरुले देखाएको दुरुह दृश्यले यहि सफेद यथार्थको पुनर्पुष्टि गर्छ | अमेरिका बेलायत जस्ता बिकशित लोकतान्त्रिक मुलुकबाट काठमाडौँ पुगेका प्रतिनिधि मध्य एक जनाले पनि गगन थापा जस्ता पार्टी भित्रका नयाँ शक्ति अनि नयाँ विचारका पक्षमा पहाड भएर उभिन नसक्नु उनीहरुमा स्थापित भएको दासता, संकीर्ण पुरातनबादी सोंच अनि गुटबन्दी प्रतिको मोह हो | अमेरिका अनि बेलायतका स्थायी बसोबासको कागज अथवा नागरिकको हैसियत बोकेका यिनीहरु पार्टी मार्फत देशको मुहार फेर्ने सपना बाढ्न काठमाडौँ पसेका छन तर अहिले यिनीहरुको दैनिकी शेर बहादुर दाई अथवा राम चन्द्र दाईको ढोका चाहार्नमा व्यस्त छ | यिनीहरु गगन थापा, बिश्व प्रकाशहरुलाई चिन्दैनन |

गगन थापाको बिरुध्दमा अहिले थुप्रै प्रायोजित आरोपहरु आउन थालेका छन | त्यो कुनै आश्चर्य होइन हिजो उनकै कांग्रेस पार्टीको संबैधानिक राजतन्त्र नीति बिरुध्द सडकमा नेतृत्व गर्न साथ वटा बिद्यार्थी संगठनहरुको नेतृत्व गर्दा पनि उनकै पार्टीको संस्थापनले “दरवारको एजेन्ट” भएको प्रायोजित आरोप उनलाई लगाएका थिए | अब अहिले भारतीय एजेन्टको नयाँ काल्पनिक ट्याग उनलाई लगाउन खोजिएको छ | अहिलेको वर्तमान यथास्थितिबादी राजनीतिमा हामीले भुल्न नहुने सत्य के पनि हो भने अहिले कांग्रेस र एमालेमा तिनीहरुकै हालीमुहाली छ जसले हिजो गणतन्त्र र संघियताको पक्षमा राजतन्त्रको समुल अन्त्यको लडाई लड्ने गगन थापा, गुरु घिमिरे, प्रदिप पौडेल अनि राजेन्द्र राईहरुलाई पार्टी भित्र अन्तरिक कारवाही गर्ने लागिपरेका थिए | यत्ति बुझे नेपालको समकालीन राजनीति बुझ्न अन्यत्र गईरहनु पर्दैन |

केहि निहु र बहाना नभेटे पछि अहिले तिल्मिलाएको यथास्थितिबादी कांग्रेस र उनीहरुद्वारा पालित पोषित ठुला मिडिया हाउसहरु गगन थापालाई कुमार घैंटेलाई बचाउन लागेको घटनालाई अतिरन्जित गरेर प्रचार गरिरहेका छन | म भन्दिन उनले ठिक गरेका थिए तर प्राप्त भएको सिमित प्रजातन्त्रलाई शशुराली दरबारलाई बुझाउने शेर बहादुर देउबाले गरेको जघन्य राजनैतिक अपराधको तुलनामा गगनले गरेको त्यो कर्म सानो गल्ती र कमजोरी मात्र हो | उनि त्यस बापत आम मानिसबाट दण्डित भईसकेका छन | अब उनलाई थप दण्डित गरिरहन आबश्यक छैन |

अहिले गगन र बिश्व प्रकाशहरुले आरम्भ गरेको साहसिक अभियानले कांग्रेसलाई भडखालोमा जानबाट एक चरणसम्म बचाउँछ नै त्यो भन्दा पर एमाले तथा माओबादी दलका तन्नेरी पुस्तालाई पनि पार्टी भित्र अनि तानाशाही नेता बिरुध्द चेतना र न्यायको संखनाद गर्न अभिप्रेरित गर्नेछ | त्यस अर्थमा पनि हामी उनीहरुसंग यो चेतना र स्वाधिनताको आन्दोलनमा सपाट, अजंग अनि पहाड भएर उभिनु पर्छ | यस कारण मेरो नि:शर्त समर्थन छ गगन थापा र बिश्व प्रकाश शर्माहरुलाई !